Monday, July 21, 2008

राष्ट्रपतिमा यादव बिजयी

राष्ट्रपतिमा यादव बिजयी
६ साउन,।
राष्ट्रपति पदको ऐतिहाँसिक निर्वाचनमा डा. रामबरण यादव निर्वाचित हुनुभएको छ । सभाध्यक्ष कुलबहादुर गुरुङले संबिधान सभा बैठकमा यो घोषणा गर्नुभएको हो ।
औपचारिक घोषणा नहुँदै संबिधान सभा हल नयाँ बानेश्वरमा यादव समर्थकहरुले नारावाजी र अवीर साटासाट गरेका थिए ।
नेपाली कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरम लगायतको गठबन्धनको साझा उम्मेदवार बन्नुभएका यादबले ३ सय ८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी माओबादीद्वारा प्रस्तावित रामराजाप्रसाद सिंहले २ सय ८२ मत प्राप्त गर्नुभएको छ । उहाँलाइ तराइ-मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी लगायतका दलहरुले समर्थन गरेका थिए । धनुषाको सपही गाविसका वडा नं ९ मा २००४ साल माघ २२ गते जन्मनुभएका यादवले यसअघि स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालीसक्नुभएको छ ।
६१ बर्षिय यादबले चिकित्सासास्त्रमा स्नातोकोत्तरको शिक्षा हासिल गर्नुभएको छ । धनुषा क्षेत्र नं ५ बाट नेपाली कांग्रेसको तर्फबाट सभासदमा निर्वाचित यादव कांग्रेसका महामन्त्री हुनुहुन्छ ।
आज सम्पन्न मतदानमा कूल ५ सय ९४ मतदातामध्ये ५ सय ९० मत खसेको थियो । राजावादी दल राप्रपा नेपालका ४ सभासद बाहेक संबिधान सभामा प्रतिनिधित्व गर्ने २५ दलमध्ये २४ दल मतदानमा सहभागि भएका थिए ।
यसअघि शनीवार भएको निर्वाचनमा यादवले २ सय ८३ मत र सिंहले २ सय ७० मत प्राप्त गर्नुभएको थियो । निर्वाचित हुन २ सय ९८ मत प्राप्त गर्नुपर्ने भएकोले आजको लागि दोश्रो निर्वाचनको मिति तय गरिएको थियो ।

को हुन् नवनिर्वाचित राष्ट्रपति यादव

को हुन् नवनिर्वाचित राष्ट्रपति यादव
जुलाई, २१
नवनिर्वाचित राष्ट्रपति रामवरण यादवका जन्म विक्रम सम्बत २००४ साल माघ २२ गते धनुषाको सपहीमा भएको हो । प्रारम्भिक शिक्षा धनुषा तथा उच्च शिक्षा काठमाडौ र भारतबाट पुरा गर्नुभएका यादवले विद्यार्थी अवस्थामै राजनीति सुरु गर्नुभएको हो । किसान परिवारमा जन्मनु भएका यादव स्व. थानी यादव र माता रामरती यादवका चौथो सुपुत्र हुनुहुन्छ । साधारण किसान परिवारमा जन्मनु भएका यादव पेसाले चिकित्सक हुनुहुन्छ । उहाँले विभिन्न गाउँमा चिकित्सा सेवा पुर्‍याउनु भएको छ । २०४० सालमा भारतको चण्डीगढबाट स्नातकोत्तर उत्तीर्ण गर्नुभएका यादवले कलकत्ता मेडिकल कलेजबाट एमबीबीएस र स्कुल अफ ट्रोपिकल मेडिसिन कलकात्ताबाट डीसीपी गर्नुभएको छ।यादवले २०१७ सालबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । उहाँ विद्यार्थी अवस्थामै तत्कालीन राजा मेहन्द्रले लादेको निरंकुशताविरुद्ध लाग्नु भएको थियो । २०४८ साल र २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विजयी बन्नु भएका यादवले दुई पटक स्वास्थ्य मन्त्रीको पदसमेत सम्हाली सक्नु भएको छ।स्व. बीपी कोइरालाको स्वास्थ्योपचार टिममा समेत सक्रिय डा. यादवले कोइरालाको जीवनको अन्तिम तीन महिना चौबीसै घण्टा खट्ने तीन सदस्यीय चिकित्सक टोलीको नेतृत्व गर्नुभएको थियो । पार्टी पंक्तिमा खरो तरिकाले आफ्नो कुरा राख्ने र निर्भिक ढंगले संघर्षमा होमिने नेताका रुपमा उहाँ परिचित हुनुहुन्छ ।नेपाली कांग्रेसको केन्द्रीय सदस्य र हाल महामन्त्रीमा सक्रिय यादव एक मधेश एक प्रदेशको तिब्र विरोधीका रुपमा रहँदै आउनुभएको छ ।उहाँ अर्का मधेशी उम्मेदवार रामराजाप्रसाद सिंहले प्राप्त गरेको २८२ मतका विरुद्ध ३०८ मत ल्याएर नेपालको पहिलो राष्ट्रपति निर्वाचित हुनु भएको हो । राष्ट्रपतिमा खासै चर्चामा नरहेका यादव नेकपा माओवादीले सिंहको नाम राष्ट्रपतिका रुपमा सार्वजनिक गरेपछि नेपाली कांग्रेसले एक्कासी राष्ट्रपतिका रुपमा अगाडि ल्याएको हो । त्यसअघि नेकपा एमालेले पूर्व महासचिव माधवकुमार नेपाल र नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइरालाको नाम अघि सारेको थियो ।