Friday, February 29, 2008

तराईमा विजय जुलुस निकालिदै, गणतान्त्रिकको बन्द कायम

तराईमा विजय जुलुस निकालिदै, गणतान्त्रिकको बन्द कायम

सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच आठ बुँदे सम्झौता भएपछि खुसियाली मनाउँदै शुक्रबार तराईका विभिन्न जिल्लामा विजय जुलुस निकालिने भएको छ। मोर्चा निकट दलका नेता तथा कार्यकर्ताले तराईका विभिन्न जिल्लाहरुमा र्‍याली निकाल्न लागेका हुन् ।सम्झौता भएको खुसियालीमा बिहीबारदेखि नै तराईमा दिपावलीका साथ विजय र्‍याली निकाल्न सुरु गरिएको थियो । सरकार र मोर्चाबीच बिहीबार ८ बुँदे सम्झौता भएको थियो । सम्झौतालगत्तै मोर्चाले १६ दिनदेखि मधेशमा जारी आमहड्ताल फिर्ता लिएको छ।मोर्चाले आन्दोलन फिर्ता लिएपछि लामो समयदेखि प्रभावित तराईको जनजीवन सामान्य बनेको छ। बजार, पसल, शैक्षिक संस्था, कलकारखाना, यातायात लगायत संचालनमा आएका छन् । सुनसरीको दुहवी-सोनापुर खण्डमा लगाइएको अनिश्चितकालीन कर्फ्यु बिहान ९ बजेसम्म खुकुलो पारी पुनः जारी गरिएको छ। कर्फ्यु खुकुलो पारिएको समय पारेर आन्दोलनका क्रममा मृत्यु भएका मोहम्द विस्कुट मियाँको अन्त्यसष्टि गरिएको छ।यसैबीच मधेशी मोर्चाले आन्दोलन फिर्ता लिए पछि संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाको आन्दोलनका कारण पूर्वी तराई तथा पहाडी भेगको जनजीवन पूर्णतः सामान्य बन्न सकेको छैन । झापा पूर्वबाट काठमाडौका लागि अझै पनि सवारी साधन छट्न सकेका छैनन् ।यता सर्लाहीको नवलपुरमा मोर्चाका कार्यकर्ताले शुक्रबार बिहान एउटा ट्रक र ट्याक्टरमा आगजनी गरेका छन् । उनीहरुले बन्द अवज्ञा गरेको भन्दै नारायणगढबाट धरान जाँदै गरेको ट्रक र उखु ढुवानी गरेर फर्केको ट्याक्टरमा आगजनी गरेका हुन् । ट्रकमा पेट्रोल बम प्रहार गर्दा एक महिला घाइते भएकी छन् । संघीय गणतान्त्रिक मोर्चाले आफ्नो पकड रहेको क्षेत्रमा गत फागुन १ गतेदेखि आम हड्ताल गर्दै आएको छ।

गणतान्त्रिक मोर्चा र सरकारबीच आज पनि वार्ता हुने

गणतान्त्रिक मोर्चा र सरकारबीच आज पनि वार्ता हुने

पूर्वी तराई र पहाडी जिल्लामा आन्दोलनरत संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा र सरकारबीच आज पनि पुनः वार्ता हुने भएको छ।तीत सूत्रीय माग राखी पूर्वी पहाड र तराईका विभिन्न जिल्लामा आन्दोलनरत मोर्चाको निर्वाचन प्रणालीको मागमा सरकारी पक्ष सहमत हुन नसकेपछि बिहीबारको वार्ता पनि निष्कर्षमा पुग्न सकेको थिएन ।सहमतिमा पुग्ने अन्तिम प्रयासस्वरुप शुक्रबार बिहान ११ बजे ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा वार्ता हुने मोर्चामा आवद्ध संघीय लिम्बूवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देनले जानकारी दिनुभयो ।मोर्चाले अब हुने सहमतिको संवैधानिक ग्यारेन्टी माग गर्दा शान्ति तथा पुनः निर्माण मन्त्री रामचन्द्र पौडेलले त्यसमा सहमति नजनाएपछि बिहीबारको वार्ता बिना निष्कर्ष सकिएको थियो । मोर्चाले जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मागलाई प्रमुखताका साथ उठाइएको छ।

Thursday, February 28, 2008

आयोगद्वारा उम्मेदवारी दिने म्याद थप

आयोगद्वारा उम्मेदवारी दिने म्याद थप

सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच भएको सहमतिअनुसार संविधानसभा निर्वाचनको समानुपातिक र प्रत्यक्ष प्रणालीतर्फ उम्मेदवारी दिनका लागि निर्वाचन आयोगले एक दिनको म्याद थप गरेको छ।आयोगले समानुपातिक प्रणालीतर्फ बन्द सूची पेस गर्नका लागि यही फागुन १९ गतेका दिन तोकेको छ। त्यस्तै प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ताका लागि २३ गतेको दिन तोकिएको छ।सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच आठ बुँदे सहमति भएपछि उम्मेदवारी नदिएका दलहरुलाई उम्मेदवारी दिने अवसर प्रदान गर्न अनुरोध गर्दै मन्त्रिपरिषदले बिहीबार साँझ आयोगलाई औपचारिक पत्र पठाएको थियो । सरकारको पत्र पाएपछि आयोगको बिहीबार राति बसेको बैठकले म्याद थप गर्ने निर्णय गरेको निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले बताउनुभयो ।उम्मेदवारी दिने म्याद बढाइए पनि निर्वाचन भने चैत २८ गते नै हुनेछ । आयोगमा दर्ता भएका तर समानुपातिक प्रणालीका लागि यसअघि गत ८ र १२ गते उम्मेदवारको बन्द सूची नबुझाएका र प्रत्यक्ष प्रणालीका लागि १३ गते उम्मेदवारी नदिएका दलहरले आयोगले थप गरेको म्यादमा उम्मेदवारी दिन पाउनेछन् ।

मन्त्रिपरिषदद्वारा मोर्चासँगको सहमति अनुमोदन

मन्त्रिपरिषदद्वारा मोर्चासँगको सहमति अनुमोदन

मधेश समस्या समाधानका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग भएको सम्झौतालाई बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अनुमोदन गरेको छ।साथै बैठकले मोर्चासँग भएको सहमतिअनुसार मोर्चालाई आगामी चैत २८ गते हुने संविधानसभा निर्वाचनमा भाग लिने अवसर प्रदान गर्न उम्मेदवारी मनोनयनका लागि मुनासिम समय थप गर्न निर्वाचन आयोगलाई पत्राचारसमेत गरेको छ। यसअघि मोर्चाले दश दिन मनोनयका लागि समय दिन अनुरोध गरेको बताइएको छ।सरकारको आग्रहअनुसार निर्वाचन आयुक्तहरुको बैठक बसिरहेको बताइएको छ।

मोर्चा र सरकारबीचको सहमतिको भारतद्वारा स्वागत

मोर्चा र सरकारबीचको सहमतिको भारतद्वारा स्वागत


तराई समस्या समाधान गरी तोकिएकै समयमा संविधानसभा निर्वाचन गर्नका लागि मार्ग प्रसस्त गर्ने गरी सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच सहमति भएको भन्दै भारतले स्वागत गरेको छ।राजधानीमा सरकार र मधेशी मोर्चाबीच सम्झौतापत्रमा हस्ताक्षर भएलगत्तै प्रतिक्रिया दिदै भारतले त्यसको स्वागत गरेको हो । बिहीबार साँझ विज्ञप्ति जारी गरी भारतीय विदेश मन्त्रालयले सरकार तथा दलद्वारा सम्झौताको पूर्ण पालना हुने विश्वास व्यक्त गरेको छ।सम्झौताले नयाँ नेपाल निर्माणमा महत्वपूर्ण ढोका खुलेको उल्लेख गर्दै भारतले प्रजातन्त्र, स्थिरता र समृद्धिका लागि नेपाललाई सक्दो सहयोग जारी राख्ने प्रतिवद्धतासमेत व्यक्त गरेको छ।

सरकार र मोर्चाबीचको सहमतिपछि तराईका हर्षोल्लास

सरकार र मोर्चाबीचको सहमतिपछि तराईका हर्षोल्लास


सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच आठ बुंदे सहमति भएपछि लगातार दुई साताभन्दा बढीदेखि बन्द तराईका जिल्लाहरुमा हर्षोल्लासको वातावरण छ ।चोक चोकमा निस्केर आन्दोलनकारी मधेशीहरुले विजय जुलुस निकालेका छन् । शुक्रबार औपचारिक रुपमा विजय जुलुस निकालिने बताइएपछि बिहीबार नै स्वतस्फुर्त रुपमा विभिन्न क्षेत्रमा खुशीयाली जुलुस निस्किएका छन् ।सुनसरीबाट हाम्रा सहकर्मीहरुले जनाए अनुसार सहमतिको घोषणासँगै बन्द रहेका पसल, यातायातका साधन चलेका छन् । धरान, ईटहरी, धनकुटा लगायतका क्षेत्रमा जुलुस प्रदर्शन भएको छ । सरकारले लगाएको कफ्र्यू नहटे पनि स्वतःस्फुर्त रुपमा जुलुस निस्किएका छन् ।त्यस्तै भैरहवाबाट हाम्रा सहकर्मीले जनाए अनुसार त्यहाँ पनि बजारमा चहल पहल बढेको छ भने फोन मार्फत आन्देालनकारीहरुले एक अर्कामा खुशी बाँडेका छन् । भैरहवाबाट सुनवल, लुम्बिनी, परासी जाने यातायात अबरुद्ध भएकोमा छिट्टै खुल्ने तयारी भइरहेको छ । भैरहवामा पनि विजय जुलुस निकाल्ने तयारी भएको छ ।जनकपुरबाट हाम्रा सहकर्मी ईश्वरचन्द्र झाले जनाए अनुसार ८ बुंदे सहमति हुनेबित्तिकै स्थानीय बासिन्दाले खबरदारी जुलुस निकालेका छन् ।उनीहरुले सम्झौताको सही कार्यान्वयन हुनुपर्ने माग पनि गरेका छन् । शुक्रबार दिउँसो १ बजे विजय जुलुस निकाल्ने तय भएको छ । दैनिक उपभोग्य सामग्रीको अभावमा छटपटाएका सर्वसाधारणले अब राहतको आशा गरेको बताएका छन् । शुक्रबारलबाटै स्थिति सामान्यतर्फ फर्कने अपेक्षा पनि गरिएको छ । यस्तै बाराको जीतपुरमा पनि सहमति लगत्तै विजय जुलुस निस्किएको छ ।यसैगरी तराईका अन्य विभिन्न जिल्लामा पनि सहमतिको स्वागतमा जुलुस निस्किएका छन् ।

सरकार मोर्चाबीच सहमति

सरकार मोर्चाबीच सहमति

सरकार र तर्राई आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच ८ बुंदे सहमति भएको छ । १६ फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमतिलगत्तै मोर्चाले १६ दिनदेखि गरेको आमहडताल फिर्ता लिएको छ । यसले २८ चैतका लागि निर्धारित संविधान सभा निर्वाचन हुने सुनिश्चितता पनि देखापरेको छ ।
सहमतिअनुसार स्वायत्त प्रदेशसहितको संघीय संरचना लागू गरिने र प्रदेशहरुको बांडफांड संविधान सभाले गर्नेछ । सेनामा भर्नाछनोट गर्दा मधेशी, दलित, आदिवासी जनजातिलगायतलाई समावेशीका आधारमा प्रवेश गराइने सहमति बनेको छ । यसअघि मधेशी नेताहरुले सामूहिक प्रवेशको माग गर्दै आएका थिए । मधेश आन्दोलनमा मारिएकालाई सहिद घोषणा गरी राहतस्वरुप रु १० लाख दिने, आन्दोलनकारीमाथि लगाइएको मुद्या फिर्ता लिने, मधेशलगायत मुलुकका विभिन्न स्थानमा हिंसात्मक गतिविधि गरिरहेका राजनीतिक समूहलाई वार्तामा बोलाउने सहमतिको बुंदामा उल्लेख छ ।
निर्वाचन कार्यक्रममा सहभागी नभएकाका लागि बन्दसूची पेश गर्ने म्याद थप्न निर्वाचन आयोगलाई आग्रह गर्ने सहमति भएको छ । जसअनुसार १८ फागुनमा दल दर्ता र बन्दसूची पेश गर्ने कार्यक्रम र २१ गते प्रत्यक्ष निर्वाचन प्रणालीमा सहभागी हुनेका लागि उम्मेदवार मनोनयनपत्र दर्ताको समय तोकिएको छ ।
सहमतिमा सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, मोर्चाका तर्फबाट तर्राई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव र सदभावना पार्टीका नेता राजेन्द्र महतोले हस्ताक्षर गर्नुभएको छ ।
सहमतिपछि बोल्नुहुदै प्रधानमन्त्री कोइरालाले संविधान सभालाई लक्ष्य बनाई अगाडि बढ्न आग्रह गर्नुभयो । नकारात्मक कुरा त्यागी लोकतन्त्रलाई संस्थागत गर्न चुनावमा लाग्नुपर्नेमा उहांको जोड थियो । 'आजैदेखि नकारात्मक कुरा त्यागी अघि बढौं,' कोइरालाले भन्नुभयो,'सबै समस्या समाधानको थलो संविधान सभा हुनेछ ।' चुनावमा कसले हार्छ या जित्छ भन्नेमा आफू नजाने स्पष्ट पार्दै चुनाव सफल पारी लोकतन्त्र बलियो बनाउन लाग्ने स्पष्ट पार्नुभयो । मुलुकमा विद्यमान विभेद हटाउन सबैको भूमिका महत्वपूर्ण रहने उहांको भनाई थियो ।

गणतान्त्रिक मोर्चासँग पनि राजधानीमा वार्ता सुरु

गणतान्त्रिक मोर्चासँग पनि राजधानीमा वार्ता सुरु

पूर्वी तराई तथा पहाडमा आन्दोलनरत संघीय गणतान्त्रिक मोर्चा र सरकारबीच वार्ता सुरु भएको छ। दुवै पक्षबीच बुधबार भएको अनौपचारिक छलफलमा भएको सहमतिलाई अन्तिम टुंगोमा पुर्‍याउन ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा वार्ता सुरु भएको हो ।वार्तामा सरकारका तर्फबाट शान्ति तथा पुनःनिर्माण मन्त्री रामचन्द्र पौडेल, स्थानीय विकास मन्त्री देव गुरुङ, एमाले नेता झलनाथ खनाल, नेमकिपाका सुनिल प्रजापति तथा मोर्चाकातर्फबाट अध्यक्ष कमल छाराहाङ, मधेशी जनअधिकार फोरम भाग्यनाथ गुप्ता समूहका उपाध्यक्ष किशोरकुमार विश्वास, संघीय लिम्बूवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन, ताम्सालिङ स्वायत्त प्रदेशका डीके बुद्धिष्ट, थारु राष्ट्रिय मोर्चाका लक्ष्मण थारु, दलित जानजाति पार्टीका विश्वेन्द्र पासवानलगायतको सहभागिता रहेको छ ।विश्वासले आफूहरु चैत २८ मै निर्वाचन हुनुपर्नेमा अडिग रहेकाले सरकारी पक्ष लचिलो भए आजै सहमति बन्न सक्ने बताउनुभयो ।जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, संघीय गणतन्त्र घोषणा, यसअघिका सहमति कार्यन्वनयलगायतका माग राख्दै मोर्चाले आन्दोलन गरिरहेको छ। विभिन्न जातीय संगठनसमेत सम्मिलित मोर्चाको बन्दका कारण पूर्वी पहाडी जिल्लासहित तराईको जनजीवन विगत १६ दिनदेखि प्रभावित बन्दै आएको छ।

सरकार र मधेशी फोरमबीच ८ बुँदे सहमति, मधेश बन्द फिर्ता

सरकार र मधेशी फोरमबीच ८ बुँदे सहमति, मधेश बन्द फिर्ता


सरकार र तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच बिहीबार औपचारिक सहमति हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरपछि विशेष कार्यक्रमका बीच प्रधानमन्त्री र मोर्चा अवद्ध तीन दलका प्रमुखहरुले सहमतिपत्रमा हस्ताक्षर गर्ने मोर्चाका नेता अनिल कुमार झाले बताउनुभयो ।अहिलेसम्मको वार्ताबाट दुई पक्षले सहमतिको आठ बुँदे मस्यौदा तयार गरेका छन् । केही बुँदाका शब्दमा रहेका असहमति हटाई सहमति पत्रलाई अन्तिम रुप दिन सत्तारुढ प्रमुख तीन दल र मोर्चाका नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ताको तयारी भइरहेको छ। वार्तामा प्रधानमन्त्री एवं कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, एमाले महासचिव माधवकुमार नेपाल, गृहमन्त्री कृष्णप्रसाद सिटौला, माओवादी नेताहरु डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादल र मोर्चाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव, हृदयश त्रिपाठी, रेणु यादव, अनिल कुमार झालगायतका नेताहरु सहभागी हुनेछन् ।मोर्चाको ६ बुँदे मागमा सरकारले यसअघि नै सहमति जनाए पनि मोर्चाका नेताहरुले संविधानसभा निर्वाचन पर सार्नुपर्ने र सेनामा मधेशीलाई सामूहिक प्रवेश दिनुपर्ने नयाँ सर्त अघि सारेपछि वार्ता लम्बिएको थियो ।निर्वाचन चैत २८ गते नै गर्ने गरी मोर्चा आवद्ध दललाई निर्वाचन तयारीका लागि केही समय उपलव्ध गराउन सरकार तयार भएपछि सहमतिको बाटो खुलेको हो ।सत्ताधारी प्रमुख तीन दलका शिर्षस्थ नेताहरुले निर्वाचन कार्यक्रम पर सार्न निर्वाचन आयोगलाई आग्रह गर्न सरकारलाई निर्देशनसमेत दिएका छन् ।स्रोतकाअनुसार सेनामा मधेशीको सामूहिक प्रतिनिधित्व सम्बन्धी मागमा मोर्चा लचिलो भएपछि सहमति पत्रमा सामूहिक शब्द हटाइएको छ। तर, समानुपातिक रुपमा सेनामा मधेशीको प्रतिनिधित्व बढाउँदै लैजाने सहमति भएको स्रोतले जनाएको छ। दुई पक्षबीच संघीय प्रणालीभित्र मधेशलगायत विभिन्न स्वायत्त प्रदेश हुने र प्रदेशका अधिकार संविधानसभाले निर्धारण गर्ने सहमति पनि भएको छ।यसअघि ६ बुँदामा समेटिएको आत्मनिर्णयको माग मोर्चाले त्यागेको छ। मोर्चाको एक घटक मधेशी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादवका अनुसार केन्द्रीय र राज्य सूचीका आधारमा अधिकारको बाँडफाँड गरिनेछ । त्यसरी नै प्रान्तहरुसमेत अधिकार सम्पन्न र स्वायत्त हुनेछन् ।२० प्रतिशतभन्दा बढी उम्मेदवार उठाउने दलले महिला, दलित, जनजातिलगायतको समूहलाई स्थान छुट्याउनुपर्ने व्यवस्था ३० प्रतिशत बनाउन पनि सहमति भएको छ। मोर्चाले सो प्रतिशत ५० प्रतिशत पुर्‍याउनुपर्ने माग राखेको थियो ।आज सहमति पत्रमा हस्ताक्षर भएपछि मोर्चाले तराईमा विगत १६ दिनदेखि जारी राखेको अनिश्चितकालीन आमहड्ताल फिर्ता लिने फोरम संयोजक यादवले बताउनुभयो ।

तीन नेता बालुवाटारमा

तीन नेता बालुवाटारमा

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासंगको सहमतिमा हस्ताक्षर गर्नुअघि सत्तारुढ तीन दलका नेताहरु बालुवाटारमा परामर्श गरिरहनुभएको छ । १६ फागुनमा नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, एमाले महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष प्रचण्ड सहमतिले पार्नसक्ने प्रभावका बारेमा छलफल गरिरहनुभएको बालुवाटार स्रोतले बतायो ।
मधेशवादी दलले उठाएका मागको सम्बोधन गर्नेमा तीन नेता सहमत हुनुभएको र यसपछि आउने चुनौतीका बारेमा प्रधानमन्त्रीले सुझाव माग्नुभएको बुझिएको छ । नेतात्रयबीच छलफल सकिएलगत्तै मोर्चाका नेतालाई बालुवाटा डाकी सहमतिमा हस्ताक्षर गरिने स्रोतले बतायो ।

आज वार्ता सहमतिमा पुग्ने सम्भावना छः यादव

आज वार्ता सहमतिमा पुग्ने सम्भावना छः यादव

सरकार र तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मोर्चाबीच लामो समयदेखि जारी वार्ता आज सहमतिमा पुग्ने अपेक्षा गरिएको छ।मोर्चामा आवद्ध मधेशी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादवका अनुसार नेपाली सेनामा मधेशीको समूहगत प्रवेशबारे प्रधानमन्त्रीको प्रतिवद्धता आए दुई पक्षबीच जारी वार्ता आज सहमतिमा टुंगिनेछ ।दुई पक्षबीच सेनामा मधेशीको प्रवेशसम्बन्धी मुद्दामा मात्र सहमति हुन बाँकी छ। प्रधानमन्त्री निवासमा बिहान ११ बजेपछि हुने भनिएको वार्तामा सो विषयमा छलफल हुने यादवले जानकारी दिनुभयो । यादवकाअनुसार सहमति भए दुईपक्षबीच आजै एक समारोहबीच हस्ताक्षर गर्ने कार्यक्रम छ।मधेश समस्या समाधानका लागि सरकार र मधेशी मोर्चाबीच केही दिनदेखि वार्ता जारी रहे पनि निष्कर्षमा पुग्न सकिरहेको थिएन ।यसअघि सरकारले सम्पूर्ण प्रदेशहरु स्वायत्त हुने तथा स्वायत्त मधेश प्रदेश बनाउने प्रतिवद्धता जनाएपछि दुई पक्षबीच जारी वार्ता सहमतितर्फ अघि बढेको थियो । सरकारसँगको वार्ताअघि मोर्चाले तयारीका लागि आन्तरिक छलफल गरिरहेको बुझिएको छ।

पूर्वी पहाडी जिल्लाहरुमा चुनाव सुरक्षाका लागि प्रहरी लगिने

पूर्वी पहाडी जिल्लाहरुमा चुनाव सुरक्षाका लागि प्रहरी लगिने


संविधानसभा निर्वाचनका लागि पूर्वी पहाडी जिल्लाहरुमा सुरक्षा व्यवस्था कायम गर्न सुरक्षाकर्मीलाई बिहीबारबाट हेलिकोप्टरमा पठाउन सुरु गरिएको छ।लगातारको बन्द र तराई र पहाडी जिल्लामा असुरक्षाका कारण स्थल मार्ग प्रयोग नगराई उनीहरुलाई हेलिकोप्टरबाट सम्बन्धित स्थानसम्म पठाउन लागिएको हो । सोलुखुम्बू, ओखलढुंगा, संखुवासभा, ताप्लेजुङ, खोटाङलगायतका जिल्लामा एक साताभित्र १ हजार ५ सय सुरक्षाकर्मीलाई हेलिकोप्टरबाट पठाइने सशस्त्र प्रहरीका पूर्वाञ्चल डीआइजी कृष्णकुमार तामाङले बताउनुभएको छ।त्यस्तै निर्वाचनमा खटिने कर्मचारी, मतपेटिकालगायत निर्वाचन सामग्री पनि हेलिकोप्टरबाट पठाउन थालिएको छ। चैत २८ गते हुने निर्वाचनका लागि तराईका ६ र पहाडी १० गरी १६ वटा जिल्लामा बेस क्याम्पहरु स्थापना भइसकेका छन् ।निर्वाचनका लागि झण्डै ५ हजार सशस्त्र प्रहरी, १० हजार जनपथ र २ हजार बढी म्यादी प्रहरी परिचालन गरिने भएको छ।

भारतीय भूमिबाट नेपाल प्रहरीमाथि हमला, एक घाइते

भारतीय भूमिबाट नेपाल प्रहरीमाथि हमला, एक घाइते

सप्तरीको बेली भारतीय सुरक्षा बेस क्याम्प नजिक भएको शक्तिशाली पाइप बम विष्फोटनमा एक सशस्त्र प्रहरी जवान गम्भीर घाइते भएका छन् ।विष्फोटबाट बेलीस्थित सशस्त्रका जवान राजकुमार तामाङ घाइते भएको प्रहरीले जनाएको छ। बेलीस्थित सीमा सुरक्षा बेस क्याम्पबाट गएको टोलीलाई लक्षित गरी अज्ञात समूहले भारतीय भूमिबाट विष्फोट गराएको अनुमान गरिएको छ।घटनास्थल भारतीय सीमा सुरक्षा बल एसएसबीको सुरक्षाबीच भन्दा बीस मिटरको दुरीमा रहेको छ।

तराईका विभिन्न जिल्लामा बिहीबार पनि कर्फ्यु कामयै

तराईका विभिन्न जिल्लामा बिहीबार पनि कर्फ्यु कामयै


पेट्रोलियम पदार्थको सहज ढुवानी तथा प्रहरी र प्रदर्शनकारीको भिडन्तपछि तनावग्रंस्त बनेका पूर्वाञ्चलका केही जिल्लामा स्थानीय प्रशासनले बिहीबार पनि कर्फ्यु आदेशलाई निरन्तरता दिएका छन् ।सुनसरी प्रशासनले दुहवी सोनापुर क्षेत्रमा लगाएको कर्फ्यु बिहान ३ घण्टका लागि हटाएको छ। सर्वसाधारणलाई अत्यावश्यकीय सामग्री खरिदका लागि बिहान ६ बजेदेखि ९ बजेसम्म कर्फ्यु हटाइएको हो । १० बजेदेखि पुनः अनिश्चितकालीन कर्फ्यु कायमै रहने स्थानीय प्रशासनले जनाएको छ।जिल्ला सुरक्षा समितिको बैठकले स्थितिमा सुधार आएको महशुस गरे कर्फ्यु हटाउनेबारे पुनःविचार गर्ने निर्णय गरेको छ। पेट्रोलियम पदार्थको सहज ढुवानीका लागि बारा प्रशासनले सिमरा-वीरगञ्ज सडक खण्डमा बिहान ७.३० बजेदेखि ९.३० बजेसम्मका लागि कर्फ्यु लगाएको छ।त्यस्तै पर्सा प्रशासनले पनि वीरगञ्ज नगर क्षेत्रको पूर्वमा नेशनल मेडिकल कलेज, पश्चिममा रानीघाट, उत्तरमा बाराको सीमा र दक्षिणमा भारतीय सीमासम्म कर्फ्यु आदेश जारी गरेको छ।प्रशासनले बुधबार राति कर्फ्यु लगाएर ९१ वटा ट्याङ्कर पेट्रोलियम पदार्थ, ३ बुलेट ग्यास र ९३ ट्रक खाद्यान्न बोकेका सवारी साधनलाई सो नाका हुँदै राजधानी पठाएको थियो ।

मधेशमा आन्दोलनरत दुवै मोर्चासँग आज पनि वार्ता हुने

मधेशमा आन्दोलनरत दुवै मोर्चासँग आज पनि वार्ता हुने

सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच बिहीबार पनि वार्ता हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे हुने भनिएको वार्ता निर्णायक हुने मधेशी नेता महेन्द्रप्रसाद यादवले दावी गरेका छन् । तर, विगत केही दिनदेखि हरेक दिन हरेक घण्टा निर्णायक हुने भनिएको वार्ताको परिणाम के हुने भन्ने स्पष्ट भइसकेको छैन ।मधेश समस्या समाधानका लागि सरकार र मधेशी मोर्चाबीच केही दिनदेखि छलफल जारी रहे पनि निष्कर्षमा पुग्न सकेको छैन । मधेशी मोर्चाले राखेको ६ बुँदे मागमा सहमति हुन लागेपछि उसले संविधानसभा निर्वाचन सार्न गरेको प्रस्ताव र सो मागमा चौतर्फी विरोध भएपछि सेनामा मधेशीको सामुहिक प्रवेशको माग अघि सारेर मोर्चाले वार्तामा अत्तो थापेको आरोप सरकारी पक्षले लगाउँदै आएको छ।मधेशी मोर्चाले पछिल्लो समयमा नेपाली सेनामा मधेशीको सामुहिक प्रवेश तत्काल गराउनुपर्ने सर्तमा अडान राखेको छ। आजको वार्तामा पनि सोही विषयमा छलफल हुने यादवले बताए । त्यसअघि वार्ताको तयारीका लागि मधेशी नेताहरुले आन्तरिक छलफल गरिरहेको बताइएको छ।त्यसैगरी पूर्वी तराई पहाडमा आन्दोलनरत संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा र सरकारबीच पनि बिहीबार नै पुनः औपचारिक वार्ता हुने भएको छ। दुवै पक्षबीच बुधबार भएको अनौपचारिक छलफलमा भएका सहमतिलाई अन्तिम टुंगोमा पुर्‍याउन बिहीबार अपरान्ह २ बजे वार्तामा बस्न लागेको सरकारी स्रोतले जनाएको छ। वार्ताको समय तय भए पनि स्थानमा भने टुंगो लाग्न बाँकी रहेको बताइएको छ।मोर्चामा आवद्ध मधेशी जनअधिकार फोरम मधेशका उपाध्यक्ष किशोरकुमार विश्वासले सरकारी पक्षको गृहकार्यमा वार्ताको सफलता र असफलता निर्भर गर्ने बताए । जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचनको माग अघि सारेको मोर्चाले सरकार त्यसमा सहमत नभएको जनाएको छ। विश्वासले आफूहरु चैत २८ मै निर्वाचन हुनुपर्नेमा अडिग रहेकाले सरकारी पक्षले आवश्यक गृहकार्यसहित वार्तामा आए आजै सहमति बन्न सक्ने बताए ।

नेपालमा पाँच प्रतिशतको मृत्यु ध्वनि प्रदुषणबाट

नेपालमा पाँच प्रतिशतको मृत्यु ध्वनि प्रदुषणबाट


नेपालका पाँच प्रतिशत मानिसको मृत्यु वायु प्रदुषणबाट हुने गरेको छ । काठमाडौंमा मात्रै प्रतिवर्ष १ हजार ६ सय जना वायु प्रदूषणबाट हुने रोगका कारण मृत्युको मुखमा पर्ने गरेका छन् ।नेपाल वातावरण पत्रकार समूहले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा सहभागीहरुले वायु प्रदुषण दिनप्रतिदिन बढिरहेकाले मृत्यु हुनेको संख्या पनि बढिरहेको बताएका छन् ।काठमाडौंमा ३० प्रतिशत वायु प्रदूषण इँट्टाभट्टाका कारण हुने गरेको छ । लगभग सत्तरी प्रतिशत प्रदूषण यातायातका साधनबाट निस्कने धुवाँबाट हुने गरेको छ ।काठमाडौंमा चल्ने करिब साढे तीन लाख यातायातका साधनले बाषिर्क ३५ देखि ४० हजार टन घातक विषादि उत्पादन गरिरहेको कार्यक्रममा जानकारी दिइएको छ ।यसबाट श्वासप्रश्वाससम्बन्धी रोगबाट मानिस बढि प्रभावित हुने गरेका छन् । प्रदूषणका कारण काठमाडौंमा मात्रै बार्षिक २० हजार दमका रोगी र पाँच हजार लहरेखोकीका रोगी थपिरहेका छन् । काठमाडौं उपत्यकाभित्र अहिले ४ सय ईट्टाभट्टा सञ्चालनमा छन् ।भक्तपुरमा मात्रै ७९ वटा छन् । तीमध्ये ४६ वटामात्रै घरेलु तथा साना उद्योगमा दर्ता भएका छन् । अवैध रुपमा सञ्चालित भट्टाहरुले प्रदूषण बढिरहेको जनाइएको छ ।सरकारले अवैध रुपमा सञ्चालन गरिएका भट्टा हटाइ सुधारिएको भीएसबी के प्रविधि प्रयोग गर्न आग्रह गरे पनि पूर्णतः ब्यवहारमा लागु हुन सकेको छैन । यो प्रविधि प्रयोग गर्ने भट्टाहरुमा प्रदूषण घटेको छ ।कार्यक्रममा वातावरणविद् भूषण तुलाधर र सञ्जीव प्रधानले वातावरणीय प्रभावबारे कार्यपत्र पेश गर्नुभएको थियो ।

ट्याङ्कर दुर्घटनामा एकको मृत्यु, एक घाइते

ट्याङ्कर दुर्घटनामा एकको मृत्यु, एक घाइते


रुपन्देहीको भैरहवाबाट गुल्मीको तम्घासतर्फ जाँदै गरेको लु १ ख ३८०८ नम्बरको ट्याङ्कर बिहीबार बिहान ३ बजे तम्घासको देउरालीमा दुर्घटना हुôदा एक जनाको मृत्यु भएको छ।मट्टीतेल लिएर जाँदै गरेको ट्याङ्कर दुर्घटना हुँदा चालक शेरप्रसाद श्रीसको घटनास्थलमै मृत्यु भएको हो । गम्भीर घाइते भएका सहचालकलाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ।ट्याङ्कर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

Tuesday, February 26, 2008

चुनाव बिथोल्नेमाथि कारबाही हुन्छ-महरा

चुनाव बिथोल्नेमाथि कारबाही हुन्छ-महरा

सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले अब संविधानसभा चुनाव विथोल्नेका विरुद्ध सरकारले प्रशासनिक कारवाही अघि बढाउने बताउनुभएको छ । संविधानसभा निर्वाचन हु"दैन भन्ने आशंका समाप्त भएको दाबी गर्दै सिंगो देश चुनावमा होमिइसकेकाले चुनावलाई समर्थन गर्नुबाहेकको विकल्प कसैसंग नरहेको बताउनुभयो ।
क्रान्तिकारी पत्रकार संघ दाङले १४ फागुनको विहान घोराहीमा गरेको पत्रकार भेटघाटमा उहाँले हिजो भएको उम्मेद्वारी दर्ताले अब संविधान सभाको चुनाव सुनिश्चत भएको बताउनुभयो । मन्त्री महराले भन्नुभयो- 'मधेशी जनताको तर्फबाट निर्वाचनका लागि उम्मेदवारी आइसक्यो, यसलाई समर्थन नगर्नु अराजकता फैलाउनु मात्र हो । सरकार अराजकता फैलाउने तत्वलाई प्रश्रय दिन सक्दैन, प्रशासनिक कारवाही पनि हुन सक्छ ।'
'कतिपय स्थानमा अवरोधको प्रयास भए पनि हिजो देशभरि सौहार्दपूर्ण तरीकाले उम्मेदवारी दर्ता भएका छन्'- उहा"ले भन्नुभयो- 'यसबाट अब निर्वाचन हु"दैन कि भन्ने अन्योलको अन्त्य भएको छ ।'

मधेशवादी नेताको सर्त निर्वाचनविरोधी षड्यन्त्रः मन्त्री गुरुङ

मधेशवादी नेताको सर्त निर्वाचनविरोधी षड्यन्त्रः मन्त्री गुरुङ


स्थानीय विकास मन्त्री देव गुरुङले मधेशवादी नेताहरुले सहमतिको नाममा पछिल्लो पटक राखेको सर्त संविधानसभा निर्वाचन हुन नदिने षड्यन्त्र भएको आरोप लगाउनुभएको छ।यसको प्रतिकारमा दलका नेताहरु एक भएर निर्वाचनमा जानुको विकल्प नभएको उहाँले बताउनुभयो । पोखरामा मंगलबार बिहान क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री गुरुङले मधेशवादी दलहरुसँगको वार्तामा संविधानसभा निर्वाचनविरोधी षड्यन्त्रकारी र भारतीय विस्तारवादी नीति हावी भएको टिप्पणी गर्नुभयो ।मधेशी जनताले उठाएका अधिकांश मुद्दा सम्बोधन गर्न सरकार तयार भएका बेला मधेशवादी नेताहरुले निर्वाचन सार्नुपर्ने र मधेशी सेना बनाउनुपर्ने अड्को थाप्नुले राष्ट्रियता र स्वाधिनतामा आघात पुगेको बताउनुभयो ।मन्त्री गुरुङले भारतीय दूतावासमा भएको छलफल र वार्ताले नेपाललाई सिक्किमी र भूटानीकरण गर्न लागिएको उल्लेख गर्नुभयो । नेपाली सेना र जनमुक्ति सेना परिचालनको कुरा विस्तृत शान्ति सम्झौता विपरीत हुने बताउँदै मन्त्री गुरुङले सेना परिचालनले निष्पर्ष निर्वाचनमाथि प्रश्न चिन्ह लाग्ने बताउनुभयो ।

देशभरमा २ हजार २ सय ११ उम्मेदवार

देशभरमा २ हजार २ सय ११ उम्मेदवार


निर्वाचन आयोगले संविधानसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको सोमबार दर्ता भएका उम्मेदवारहरुको मनोनयनपत्र आज सार्वजनिक गर्ने भएको छ।आयोगले सोमबार २ सय ४० स्थानका लागि २ हजार २ सय ११ उम्मेदवारको मनोनयन परेको जनाएको छ। दर्ता भएका नामावली सम्बन्धित जिल्ला निर्वाचन कार्यालय मार्फत सार्वजनिक गरिनेछ ।आयोगले त्यस मनोनयनउपर दावी विरोधका लागि बुधबार र त्यसमाथि छानविन गरी फागुन १६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने जनाएको छ।त्यस्तै निर्वाचन कार्यक्रमअनुसार फागुन १७ मा उम्मेदवारले नाम फिर्ता लिने, १८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने दिन तोकिएको छ।

सप्तरीमा कर्फ्यु उल्लंघन गर्दै बिहानैबाट प्रदर्शन

सप्तरीमा कर्फ्यु उल्लंघन गर्दै बिहानैबाट प्रदर्शन

संविधानसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने क्रममा सोमबार भएको झडपमा एक प्रदर्शनकारीको मृत्यु भएपछि दोस्रो दिन पनि सप्तरीको राजविराजमा बिहानैबाट झडप सुरु भएको छ। स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि कर्फ्यु उल्लंघन गर्दै बिहानैबाट प्रदर्शन भइरहेको बताइएको छ।स्थानीय प्रशासनले बिहानैबाट कर्फ्यु लगाए पनि राजविराजमा प्रदर्शन भइरहेको छ। सोमबार त्यहाँ गुल्चन दासको प्रहरीको गोली लागी मृत्यु भएको थियो । राजविराजका विभिन्न स्थानमा बिहानैबाट सडकमा टायर बालेर प्रदर्शन भइरहेको छ।राजविराजको गुनौली मोड भन्ने स्थानमा प्रदर्शनकारीसँग भएको झडपमा प्रहरीले आधा दर्जन बढी हवाई फायर गरेको बताइएको छ। त्यस्तै प्रदर्शनकारीहरुले राजविराजबाहिर भारदह, टोपा बजार, हनुमान नगर, कञ्चनपुरमा पनि प्रदर्शन भइरहेको छ।

देशभरका शिक्षा कार्यालयमा अनिश्चितकालीन ताला

देशभरका शिक्षा कार्यालयमा अनिश्चितकालीन ताला


सरकारसँग भएका सहमति कार्यन्वयन नभएको विरोधमा माओवादी निकट शैक्षिक गणतान्त्रिक मञ्चले मंगलबार देशभरका जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्ने भएको छ।मंगलबार बिहान ९ बजे हुने भनिएको विरोध कार्यक्रम अनिश्चितकालका लागि रहने मञ्चले जनाएको छ।सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीलाई दरबन्दी सिर्जना गरी स्थायी गर्ने, सम्पूर्ण अस्थायी शिक्षकहरुलाई स्थायी नियुक्ति पत्र दिई सामुदायिक विद्यालयका शिक्षकसरह न्युनतम तलव सुविधा दिने र शिक्षामा कम्पनी ऐन खारेज गर्ने भनी सरकारले गरेको सहमति कार्यन्वयन नगरेको मञ्चले जनाएको छ।आन्दोलनरत विभिन्न शिक्षक संघ, संगठित सम्मिलित मञ्चले सहमति कार्यन्वयन गराउन सरकारलाई दबाव दिन सात दलसँग पनि आग्रह गरेको छ।

बारा, पर्सा, सुनसरी, सप्तरीलगायतका क्षेत्रका बिहानैबाट कर्फ्यु

बारा, पर्सा, सुनसरी, सप्तरीलगायतका क्षेत्रका बिहानैबाट कर्फ्यु


सरकारले पेट्रोलियम पदार्थ ढुवानीका लागि भन्दै विभिन्न स्थानमा मंगलबार पनि कर्फ्यु आदेश जारी गरेको छ। बारा, पर्सा, सुनसरी, सप्तरीलगायतको क्षेत्रमा स्थानीय प्रशासनले बिहान ८ बजेदेखि कर्फ्यु लगाएको हो ।वीरगञ्ज उपमहानगरपालिका क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु पूर्वमा नेशनल मेडिकल कजेल, पश्चिममा रानीघाट, उत्तमरमा बाराको सीमा र दक्षिणमा भारतको सीमासमम्म लागु हुनेछ ।त्यस्तै बारा प्रशासनले वीरगञ्ज पथलैया करिडोरको दक्षिणमा पर्साको सीमादेखि उत्तरमा सुर्य नेपाल प्रालिसम्म मंगलबार बिहान ८ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।कर्फ्यु लगाएर इन्धन आयात गर्न झण्डै डेढ सय बढी खाली ट्याङ्कर र ग्यासका बुलेट तयारी अवस्थामा राखिएको बताइएको छ।त्यस्तै सुनसरीमा बिहानैबाट १२ घण्टे कर्फ्यु जारी गरेको छ। कोशी राजमार्गको दुहवी सोनापुर खण्डमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्मका लागि कर्फ्यु लगाइएको हो । त्यस्तै सप्तरीको राजविराजमा पनि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ।दुई साता लामो अनिश्चितकालीन आमहड्ताल र कर्फ्युले त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ। बन्दको १४औं दिन मंगलबार पनि तराईको जनजीवन प्रभावित बनेको छ। विभिन्न स्थानमा बिहानैबाट प्रदर्शन सुरु भएका छन् भने बजार पसललगायत ठप्प प्रायः छन् ।बन्दका कारण सुनसरीमा अलपत्र ६ दर्जन बढी सवारी साधनलाई प्रहरीले स्कटिङ गरी गन्तव्यमा पुर्‍याएको जनाएको छ। यस्तै भारतको जोगवनीमा रोकिएका दुई दर्जन बढी कन्टेनरलाई सुनसरी मोरङ औद्योगिक करिडोर पुर्‍याइएको छ।यसैबीच पूर्वी तराईमा एम्बुलेन्स लगायत अत्यावश्यकीय सवारी साधनमाथि आक्रमणको विरोधमा व्यवसायीहरुले मंगलबारबाट पुनः सेवा अवरुद्ध गरेका छन् । आफ्नै प्रतिवद्धताविपरीत प्रदर्शनकारीले सोमबार झापाको दमकमा पुनः एउटा एम्बुलेन्स तोडफोड गरेका थिए । इटहरी, झुक्का, धरान र इनरुवा, सप्तरी, सिराह, विराटनगर लगायत दर्जनौं एम्बुलेन्स सेवा रोकिएका छन् ।यसैबीच सुनसरीको दुहवीमा प्रहरीको गोली लागी सोमबार घाइते भएका मधेशी जनअधिकार फोरम मधेशका राजेन्द्रकुमार विश्वास, गोपाल साह, अमर अग्रहरि र जाकिर मियाँको गम्भीर अवस्थामा धरानमा उपचार भइरहेको छ। मियाँको टाउकोमा, साहको छातीमा, विश्वासको खुट्टामा र अग्रहरिको हातमा गोली लागेको बताइएको छ।

Monday, February 25, 2008

बारा, पर्सा, सुनसरी, सप्तरीलगायतका क्षेत्रका बिहानैबाट कर्फ्यु

बारा, पर्सा, सुनसरी, सप्तरीलगायतका क्षेत्रका बिहानैबाट कर्फ्यु


सरकारले पेट्रोलियम पदार्थ ढुवानीका लागि भन्दै विभिन्न स्थानमा मंगलबार पनि कर्फ्यु आदेश जारी गरेको छ। बारा, पर्सा, सुनसरी, सप्तरीलगायतको क्षेत्रमा स्थानीय प्रशासनले बिहान ८ बजेदेखि कर्फ्यु लगाएको हो ।वीरगञ्ज उपमहानगरपालिका क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु पूर्वमा नेशनल मेडिकल कजेल, पश्चिममा रानीघाट, उत्तमरमा बाराको सीमा र दक्षिणमा भारतको सीमासमम्म लागु हुनेछ ।त्यस्तै बारा प्रशासनले वीरगञ्ज पथलैया करिडोरको दक्षिणमा पर्साको सीमादेखि उत्तरमा सुर्य नेपाल प्रालिसम्म मंगलबार बिहान ८ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।कर्फ्यु लगाएर इन्धन आयात गर्न झण्डै डेढ सय बढी खाली ट्याङ्कर र ग्यासका बुलेट तयारी अवस्थामा राखिएको बताइएको छ।त्यस्तै सुनसरीमा बिहानैबाट १२ घण्टे कर्फ्यु जारी गरेको छ। कोशी राजमार्गको दुहवी सोनापुर खण्डमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्मका लागि कर्फ्यु लगाइएको हो । त्यस्तै सप्तरीको राजविराजमा पनि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ।दुई साता लामो अनिश्चितकालीन आमहड्ताल र कर्फ्युले त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ। बन्दको १४औं दिन मंगलबार पनि तराईको जनजीवन प्रभावित बनेको छ। विभिन्न स्थानमा बिहानैबाट प्रदर्शन सुरु भएका छन् भने बजार पसललगायत ठप्प प्रायः छन् ।बन्दका कारण सुनसरीमा अलपत्र ६ दर्जन बढी सवारी साधनलाई प्रहरीले स्कटिङ गरी गन्तव्यमा पुर्‍याएको जनाएको छ। यस्तै भारतको जोगवनीमा रोकिएका दुई दर्जन बढी कन्टेनरलाई सुनसरी मोरङ औद्योगिक करिडोर पुर्‍याइएको छ।यसैबीच पूर्वी तराईमा एम्बुलेन्स लगायत अत्यावश्यकीय सवारी साधनमाथि आक्रमणको विरोधमा व्यवसायीहरुले मंगलबारबाट पुनः सेवा अवरुद्ध गरेका छन् । आफ्नै प्रतिवद्धताविपरीत प्रदर्शनकारीले सोमबार झापाको दमकमा पुनः एउटा एम्बुलेन्स तोडफोड गरेका थिए । इटहरी, झुक्का, धरान र इनरुवा, सप्तरी, सिराह, विराटनगर लगायत दर्जनौं एम्बुलेन्स सेवा रोकिएका छन् ।यसैबीच सुनसरीको दुहवीमा प्रहरीको गोली लागी सोमबार घाइते भएका मधेशी जनअधिकार फोरम मधेशका राजेन्द्रकुमार विश्वास, गोपाल साह, अमर अग्रहरि र जाकिर मियाँको गम्भीर अवस्थामा धरानमा उपचार भइरहेको छ। मियाँको टाउकोमा, साहको छातीमा, विश्वासको खुट्टामा र अग्रहरिको हातमा गोली लागेको बताइएको छ।

पेट्रोल वितरण सहज बनाउन जोर विजोरको व्यवस्था

पेट्रोल वितरण सहज बनाउन जोर विजोरको व्यवस्था

सरकारले पेट्रोलियम पदार्थ वितरणको लागि नयाँ व्यवस्था लागू गरेको छ । १३ फागुनबाट शुरु गरिएको व्यवस्था अनुसार जोर नम्बरको सवारी साधनका लागि जोर गते र बिजोर नम्बरका लागि बिजोर गते तोकिएको छ ।
१ बजेदेखि तोकिएको परिमाण र पम्पबाट विक्री वितरण गरिने नेपाल आयल निगमले जनाएको छ । अत्यावश्कीय सेवा लागि नेपाल आयल निगम केन्द्रीय कार्यालयको सिफारिशमा काठमाडौंको टेकुमा रहेको पेट्रोल पम्पबाट इन्धन उपलब्ध गराइने भएको छ ।
आजदेखि मोटसाइकललाई पाँच सय, निजीकारलाई आठसय, ट्याक्सीलाई एक हजार पाँच सय, शैक्षिक संस्थाका सवारी साधनलाई एक हजार रुपियाँ बराबरको तेल उपलब्ध गराइने पनि निगमले जनाएको छ ।
पेट्रोलियम पदार्थ वितरण सहज पार्नका लागि आजदेखि अलग अलग सवारी साधनलाई अलग अलग पम्पबाट तेल उपलब्ध गराइने व्यवस्था पनि गरिएको छ ।

Sunday, February 24, 2008

उम्मेदवार दर्ता आरम्भ

उम्मेदवार दर्ता आरम्भ

संविधान सभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार दर्ता आरम्भ भएको छ । १३ फागुनमा देशभरका ७५ वटै जिल्लामा एकसाथ उम्मेदवार दर्ता आरम्भ भएको हो ।
प्रत्यक्ष निर्वाचन प्रणाली अन्र्तगत २४० क्षेत्रमा सम्बन्धित जिल्लास्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाइएको छ । प्रमुख दलहरुले आ-आफ्नो उम्मेदवार तय गरिसकेका छन् । नेपाली कांग्रेसले भने नुवाकोटमा उम्मेदवारको टुंगो लगाएको छैन । विवाद उत्पन्न भएपछि कुरा मिलाउन प्रमुख नेताहरु छलफलमा व्यस्त छन् । उम्मेदवार दर्ताका लगि देशभरका जिल्ला सदरमुकामहरुमा चहलपहल बढेको छ । नेताहरु जिल्लामा पुगेका छन् । झण्डै एक दशकपछि मुलुक चुनावमय बनेको आभाष मिलेको छ ।
तर्राईका जिल्लामा सुरक्षा कडा पारिएको छ । सप्तरी, सर्लाही, नवलपरासी, कपिलवस्तु, पर्सालगायतका जिल्लामा सीमा बन्द गरिएको छ । हिंसात्मक घटना हुनसक्ने आशंकामा सुरक्षा कडा पारिएको छ । कतिपय जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

सरकार र दुवै मोर्चाबीच पुनः वार्ताको तयारी

सरकार र दुवै मोर्चाबीच पुनः वार्ताको तयारी

मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच सहमतिका लागि सोमबार बिहान पुनः वार्ता हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हुने भनिएको वार्ता निष्कर्षमा पुग्ने दुवै पक्षले विश्वास व्यक्त गरेका छन् ।आइतबार राति १० बजेदेखि सुरु भएको वार्ता संघीय प्रणालीअन्तर्गत स्वायत्त प्रदेश निर्माण गर्ने कुरामा सहमति नजिक पुगेको दावी गरिएको छ। बिहान ४ बजेसम्म चलेको वार्ता सकारात्मक रहेको बताइए पनि कुनै निष्कर्ष भने निस्कने सकेन ।वार्तामा सहभागी सरकारी स्रोतकाअनुसार मोर्चाले कुराकानी सहमति नजिक पुग्न लाग्दा पुनः अन्तरिम संविधान संशोधन र चैन २८ गतेका लागि निर्धारित संविधानसभा निर्वाचनको मिति पर सार्नुपर्ने माग राखेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो ।मोर्चाको एक मधेश एक प्रदेशको मागमा मधेश लगायत अन्य प्रदेशको स्वायत्ततासम्बन्धमा अग्रसर हुने भन्ने वाक्यांश उल्लेख गर्न सरकार सहमत भएको छ। त्यस्तै मधेश आन्दोलनमा मारिएकाहरुको परिवारलाई सहिदका परिवारसरह क्षतिपुर्ति दिन पनि सरकार सहमत भएको मोर्चाका नेता हृदयश त्रिपाठीले जानकारी दिएका छन् ।
यसैबीच मधेशी नेताहरु यो समाचार पार्दै गर्दा आन्तरिक छलफलमा व्यस्त रहेको बताइएको छ।त्यसैगरी सरकारी वार्ता टोली र संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाबीच सोमबार पनि वार्ता हुने बताइएको छ।राजधानीको याक एण्ड यति होटलमा आइतबार भएको वार्ता बिना निष्कर्ष टुंगिएपछि सोमबार पुनः वार्ता हुन लागेको हो ।सरकारी वार्ता टोली संयोजक शान्ति तथा पुनःनिर्माण मन्त्री रामचन्द्र पौडेलले आइतबार मिल्न नसकेका केही प्राविधिक विषयमा आजको वार्तामा टुंगोमा पुगिने आशा व्यक्त गर्नुभयो । यता आठ वटा समूह सम्मिलित मोर्चाले आइतबारको वार्ता बिना निष्कर्ष टुंगिएको र आज कुनै वार्ता नहुने जनाएको छ।मोर्चाका किशोरकुमार विश्वासले सरकारी टोली वार्तामा इमान्दार रुपमा प्रस्तुत नभएको आरोप लगाउनुभयो । मन्त्री पौडेलले भने आइतबारको वार्तामा सोमबार पुनः छलफल गर्ने सहमति भएको र सहमति पालना नगर्ने पक्ष नै वार्ताप्रति गम्भीर नभएको उल्लेख गर्नुभयो ।आत्मनिर्णयको अधिकारसहित स्वायत्त राज्यको घोषणालगायत तीन सूत्रीय माग राखी मोर्चा लामो समयदेखि आन्दोलनरत छ ।

मोर्चाभित्र विवाद

मोर्चाभित्र विवाद

सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच अनौपचारिक सहमती बनेपनि मोर्चाभित्रै विवाद देखिएको छ । मोर्चाका दुइ घटक तर्राई मधेश लोकतान्त्रिक पार्टी र सदभावना पार्टी सरकारको धारणाप्रति सकारात्मक भएपनि अर्को घटक मधेशी जनअधिकार फोरम असन्तुष्ट भएको छ ।
मोर्चाको प्रमुख मागमध्य 'आत्मनिर्णयको अधिकारसहित स्वायत्त एक मधेश एक प्रदेश' लाई परिमार्जन गरी 'मधेश स्वायत्त प्रदेश हुने' मा सहमती बनाउने भनिएको छ । त्यसबारे १२ फागुनको रातभर गृहकार्य भइ हस्ताक्षरका लागि पत्र तयार गरिएपनि फोरमका संयोजक उपेन्द्र यादव असन्तुष्टि व्यक्त गर्दै वार्ता छाडी निस्कुनभएको थियो । उहांले एक मधेश एक प्रदेश नभई हस्ताक्षर नगर्ने अडान राख्नुभएको थियो । मोर्चाका अन्य घटक भने मधेश स्वायत्त प्रदेश हुने बुंदामा हस्ताक्षर गर्न तयार भएका थिए ।
मोर्चाका नेताहरुले चुनाव र्सार्न प्रस्ताव गर्नुभएको स्रोतले बतायो । चुनाव कुनै हालतमा नसार्ने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको धारणापछि मधेशी नेताहरु असन्तुष्ट हुनुभएको बुझिएको छ ।

सेना र प्रहरी परिचालन भए मधेशीले संविधान आफै लेख्नेः यादव


सेना र प्रहरी परिचालन भए मधेशीले संविधान आफै लेख्नेः यादव


मधेशी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादवले समग्र मधेश एक प्रदेशको माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
शान्ति र लोकतन्त्रका लागि पेसागत संजाल पापड पर्साद्वारा आइतबार वीरगञ्जमा आयोजित कोणसभामा यादवले आफूहरुको माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएका हुन् । यादवले मधेशका समस्या समाधान गर्न सात दल गम्भीर नरहेको आरोप लगाए ।यादवले सेना र प्रहरी परिचालन गरेर निवर्ाचन गरे मधेशीहरुले आफ्नो संविधान आफै बनाउने चेतावनीसमेत दिए ।
कोणसभामा फोरमका सहसंयोजक जयप्रकाशप्रसाद गुप्ताले सात दलले मधेशका माग पुरा भइसकेको भन्ने अभिव्यक्ति दिएर जनतालाई भ्रमित पार्न खोजेको आरोप लगाए ।

बन्दको विरोधमा अनिश्चितकालीन बन्द आव्हान

बन्दको विरोधमा अनिश्चितकालीन बन्द आव्हान

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चअन्तर्गतको संघीय लिम्बूवान राज्य परिषदले आव्हान गरेको १२ दिनदेखिको बन्दको विरोधमा पाँचथरका व्यापारीहरुले आइतबार बजार तथा यातायात बन्दको घोषणा गरेका छन् ।पाँचथर उद्योग वाणिज्य संघको अगुवाईमा फिदिमका व्यापारीहरुको भेलाले यस्तो निर्णय गरेको हो । सर्वपक्षीय बैठकमा लिम्बूवानले बजार खुलाउन सहमति जनाए पनि आइतबार बिहान माइकिङ्ग गरी बन्द गर्न दबाव दिएकाले व्यापारीहरुले नै बन्द गरेका हुन् ।व्यापारीहरुको आव्हानपछि सदरमुकाम र आसपासका बजारहरु पूर्ण रुपमा बन्द भएका थिए ।उद्योग वाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्लेले व्यापार व्यवसायमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म बन्द जारी रहने बताउनुभयो ।

प्रचण्ड बल्खुमा

प्रचण्ड बल्खुमा

नेकपा माओवादीका अध्यक्ष प्रचण्ड नेकपा एमाले केन्द्रीय कार्याल बल्खु पुग्नुभएको छ । १२ फागुनमा त्यहां पुग्नुभएका उहांले चुनावी तालमेल, मधेश समस्या समाधानको उपायलगायतका विषयमा छलफल गरिरहनुभएको बुझिएको छ ।
संविधानसभा निर्वाचन नजिकिदै गर्द दुइ नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
February 24 2008{at6:00PM}

एमालेद्वारा उम्मेदवार तय

एमालेद्वारा उम्मेदवार तय

नेकपा एमालेले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गतका २ सय ४० जना उम्मेदवारको नाम तय गरेकेा छ । १२ फागुनमा उम्मेदवारको अन्तिम टुंगो लगाउदै समानुपातिक प्रणालीका लागि निर्वाचन आयोगमा पेश गरिएको बन्द सूचीमा पनि व्यापक फेरबदल गरिएको एमाले स्रोतले जनाएको छ ।
उम्मेदवार चयनका लागि महासचिव माधवकुमार नेपालले विभिन्न अन्चल इन्चार्ज र नेता कार्यकर्ताहरुसँग अलग अलग छलफल र परामर्श गर्नुभएको थियो । उम्मेदवारहरुको नाम टुंगो लगाउन स्थायी कमिटीका नेताहरुबीच पनि छलफल भएको थियो । सबै नामहरु टुंगो लगाए पनि औपचारीक रुपमा र्सार्वजनिक भनें गरिएको छ । स्रोतका अनुसार काठमाडौंको क्षेत्र नम्बर ६ तथा मेचीका केही निर्वाचन क्षेत्रमा विवाद भएकाले नाम र्सार्वजनिक गर्न ढिलाइ भएको हो ।
काठमाडौं १ मा उम्मेदवारी दिने तय गरिएका योगेश भट्टर्राईकेा ठाउँमा स्थायी समिति सदस्य एवं शिक्षामन्त्री प्रदिप नेपालले टिकट लिएपछि योगेशलाई काठमाडौं ६ मा पठाइएको छ । यसअघि ६ नम्बरमा सिफारिस भएका भानुभक्त ढकालले टिकट नपाउने भएका छन् । यसअघि समानुपातिकमा परेका कास्कीका रवीन्द्र अधिकारीलाई प्रत्यक्षमै टिकट दिइएको छ । एमालेले उम्मेदवारहरुको अन्तिम नामावली भोलिमात्र सार्वजनिक गर्नेभएको छ ।
February 24 2008

मन्त्रिपरिषदको बैठक

मन्त्रिपरिषदको बैठक

मन्त्रिपरिषदको बैठक बसिरहेको छ । १२ फागुनमा प्रधानमन्त्रीनिवास बालुवाटारमा मधेश समस्या समाधानको उपायबारे गम्भीर छलफल भइरहेको बुझिएको छ ।
बैठकले मधेशका आन्दोलनरत पक्षहरुको मागका सम्बन्धमा पनि आधिकारिक धारणा तय गर्ने बताइएको छ । {at 6:00 PM}

प्रचण्डद्वारा संयम हुन आग्रह

प्रचण्डद्वारा संयम हुन आग्रह

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले देशभरका कार्यकर्तालाई संयम हुन आग्रह गर्नुभएको छ । अर्घाखांचीमा नेकपा एमालेका कार्यकर्तासंगको झडपमा घाइते भएका आफ्ना एक कार्यकर्ता मारिएपछि स्थिति तनावग्रस्त हुन नदिन उहांले उक्त आग्रह गर्नुभएको हो ।
'घटनाका दोषीलाई सरकारले कारबाही गर्नुपर्छ,' प्रचण्डले भन्नुभयो,'शोकलाई शक्तिमा बदली संयम भएर चुनावमा पार्टीलाई विजयी बनाउने अभियानमा जुटौं ।' उहांले देशी विदेशी प्रतिक्रियावादी चुनाव भाड्ने षड्यन्त्रमा लागेको समयमा घटनालाई माध्यम बनाएर थप खतरा उत्पन्न गराउने खेल हुनसक्नेतर्फ सचेत गराउनुभयो ।
नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबीच भिडन्त हुंदा माओवादी कार्यकर्ता राजेन्द्र बन्जाडा मारिएका थिए । ११ फागुनमा अर्घाखांचीमा चुनावी प्रचारप्रसारमा लागेका दुवै समूहबीच भिडन्त हुदा घाइते भएका राजेन्द्र बन्जाडाको राजधानीमा उपचारका क्रममा मृत्यु भएको हो । भित्ते लेखनमा विवाद हुदा बन्जाडासहित चार माओवादी कार्यकर्ता घाइते भएका थिए ।

आन्दोलन चर्काउन भारतले पैसा बाडेको छ-सीपी मैनाली

आन्दोलन चर्काउन भारतले पैसा बाडेको छ-सीपी मैनाली

संयुक्त वाममोर्चाका अध्यक्ष सीपी मैनालीले मधेश आन्दोलन चर्काउन भारतले पैसाको खोलो बगाएको आरोप लगाउनुभएको छ । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै उहांले वीरगञ्जमा रहेका काउन्सल स्वयं पैसा बांड्न सक्रिय भएको बताउनुभयो ।
'नेपालमाथि बार्गेनिङ शक्ति बढाउन भारत मधेशमा आन्दोलन चर्काउन पैसाको खोलो बगाइरहेको छ,' मैनालीले भन्नुभयो,'वीरगञ्जमा खटाइएका भारतका काउन्सलर स्वयं सक्रिय भएर करोडौं पैसा बाडिरहेका छन् ।' नेपाल मामलामा भारतले दोहोरो चरित्र देखाएको आरोप लगाउदै कसैको दबाबमा एक मधेश एक प्रदेश स्वीकार नगरिने प्रष्ट पार्नुभयो । भारतको दबाबबाट सात दलका नेताहरु गल्छन् भनेरै भारतीय राजदूतावासमा बैठक डाक्न लगाइएको उहांको भनाई थियो । उहांले भन्नुभयो,'जो जो भारतीय राजदूतावासमा वार्ता गर्न गए उनीहरुले नेपाली जनतासामु माफी माग्नर्ुपर्छ ।'
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा बोल्दै मैनालीले चुनाव अघिनै एक मधेश एक प्रदेशको माग पूरा गर भन्नुलाई अलोकतान्त्रिक माग भन्नुभयो । उहांले भन्नुभयो,'मधेशका केही नेता तानाशाही माग उठाएर नेपाली जनताको शक्तिलाई उपेक्षा गर्न खोज्दैछन् ।' एक मधेश एक प्रदेशको माग कुनै हालतमा स्वीकार गर्न नसकिने बताउदै चुनावमा मत लिएर माग अनुमोदन गर्न चुनौती दिनुभयो ।

अन्तिम समयसम्म असन्तुष्टहरुलाई चुनावमा भाग लिन आग्रह गर्ने बताउदै कोही चुनावमा भाग लिदैन भन्दैमा सरकार चुनाव सम्पन्न गर्नबाट पछि नहट्ने बताउनुभयो ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको प्रमुख घटक सदभावना पार्टीका नेता एवं वार्ता कमिटिका सदस्य अनिलकुमार झाले आफूहरु एक मधेश एक प्रदेशको माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने बताउनुभयो । आफूहरु सार्थक संविधानसभाको पक्षमा रहेको दाबी गर्दै भन्नुभयो,'हामी बन्दसूची बुझाउन पनि जादैनौं, संविधानसभाको 'स' पनि थाहा छैन । आन्दोलन पनि रोक्दैनौं ।' आन्दोलनमा दमन भएको भन्दै सहिद र घाइतेको लिष्ट बनाइरहदा चुनावको उम्मेदवारको लिष्ट बनाउन नसक्ने बताउनुभयो । आफूहरु वार्ता विरोधी नभएको भन्दै आन्दोलन र वार्ता संगै अघि बढाउने जानकारी दिनुभयो । एक मधेश एक प्रदेशको ग्यारेन्टी गरिए आफूहरु चुनावको भाग नलिएपनि चुनाव हुन दिने बताउनुभयो ।


मधेशी जनता मुलुक बिखण्डनको पक्षमा नरहेको बताउनुभयो । सिंगो मधेश एक प्रदेश हुनुपर्ने भन्दै मधेश टुक्राएर प्रदेश बनाउन खोजे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभयो । उहांले भन्नुभयो,'हामी प्रधानमन्त्री बन्न चाहेका हैनौं, मुख्यमन्त्री बन्न चाहेका छौं ।' भारतीय राजदूतावासमा वार्ता गर्नुलाई तोडमोड गरी आपत्ती गर्न नहुने बताउनुभयो । उहांले भन्नुभयो,'कालापानीमा झण्डा लिएर ब्रिफकेश बोकेर आउन हुने, हामी भारतीय राजदूतावासमा वार्ता गर्न जान किन नहुने ?'

नेकपा एमाले स्थायी कमिटि सदस्य मोदनाथ प्रश्रतिले एक मधेश एक प्रदेशको माग उठाउनेहरु मधेशमै अत्पमतमा रहेको बताउनुभयो । मधेशमा थारु समुदायका अलावा पहाडे मूलका बासिन्दा र दलितहरु एक मधेश एक प्रदेशको विपक्षमा रहेको भन्दै आन्दोलनकारीलाई संविधानसभामार्फत् त्यसलाई अनुमोदन गराउन चुनौती दिनुभयो । उहांले भन्नुभयो,'मधेशको ३३ प्रतिशत जनसंख्या ओगट्ने पहाडे मूलका जनता एक मधेश एक प्रदेशको विपक्षमा छन् । उत्तिकै संख्यामा रहेका थारु, मुसलमान, मूसहर, डुम, कोचे, मेचेहरु पनि पक्षमा छैनन् ।'

एक मधेश एक प्रदेशको माग उठाउनेहरु मधेशका अभिजात्य वर्ग र उनीहरुका समर्थक मात्र रहेको दाबी गर्नुभयो । माग उठाउनेहरु सामन्ती मनोवृत्तिबाट ग्रस्त रहेको आरोप लगाउनुभयो । दरबार र तर्राईका अभिजात्य वर्गको भित्री सांठगांठबाट मुलुकलाई सामन्ती युगमै फर्काने प्रयास भइरहेको उहांको आरोप थियो ।

मधेशका बहुसंख्यक जनताको भावना विपरितको बाटो लिइए गृहयुद्ध हुने खतरा औल्याउनुभयो । तेस्रोपटक पनि संविधानसभा निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको भन्दै त्यसप्रति सचेत हुन आग्रह गर्नुभयो ।

चुनाव भाड्न खोज्नेहरुको असली अनुहार समयले उजागर गर्ने भन्दै बलमिच्याईंको संस्कृति विकसित गर्न खोज्नेहरु स्वयं आफूले खनेको खाल्डोमा फस्ने बताउनुभयो ।

प्रधानमन्त्री कोईराला र प्रचण्ड विच भेट वार्ता

प्रधानमन्त्री कोईराला र प्रचण्ड विच भेट वार्ता

प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला र माओबादी अध्यक्ष प्रचण्ड विच मधेस समस्याबारे परामर्श भएको छ ।
आज अपरान्ह १ बजेर ५ मिनेटमा माओवादीका बरिष्ट नेता डाक्टर बाबुराम भट्टर्राईका साथमा प्रधानमनत्री निवास बालुवाटार पगेका माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री कोइराला विच मधेस समस्या र अबको रणनितिका विषयमा छलफल भएको बुझिएकोछ ।
हिजो बसेको सातदलको वैठकले एक मधेस एक प्रदेशको माग पुरा गर्न नसक्ने निर्णय गरेपछि आन्दोलन जारी राखेको मधेसि मोर्चासँग अब वार्ता गर्ने या कारवाही प्रक्रियाबाट अगाडी बढ्ने भन्ने विषयमा कुराकानी भएको स्रोतले बताएको छ । प्रधानमन्त्री काईराला र अध्यक्ष प्रचण्ड विच ४५ मिनेट सम्म बार्ता भएको बालुवाटारले जनाएको छ । प्रधानमन्त्री कोइरालले आफुले मधेस समस्याका विषयमा एमाले महासचिव माधव कुमार नेपाल सँग पनि छलफल गर्ने बताउनु भएको छ

मधेशवादी दलले आज पनि बन्द सूची नबुझाउने

मधेशवादी दलले आज पनि बन्द सूची नबुझाउने


समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूची दर्ता गर्न निर्वाचन आयोगले आज एक दिन थपे पनि छुटेका दलहरुले बन्द सुची नबुझाउने बताएका छन् । यही फागुन ८ गते सत्तारुढ दल र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका ३७ दलले बन्द सूची बुझाएका थिए ।तर, ७४ वटा दल निर्वाचन आयोगमा दर्ता भएकोमा मधेशमा आन्दोलनरत दलका साथै अन्य केहीले बन्द सूची बुझाएका छैनन् ।
बन्द सूची नबुझाउनेमा पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको पार्टी राष्ट्रिय जनशक्ति पार्टीलेसमेत बुझाएको छैन ।आन्दोलनमा रहेको संयुक्त मधेशी मोर्चाले आफ्नो सबै माग सात दलीय सरकारले सम्बोधन पुरा नगरेकाले आज बन्द सूची नबुझाउने बताएको छ। एक मधेश एक प्रदेशबाहेकका सबै माग पुरा गर्ने प्रतिवद्धता भने सात दलले शनिबार जनाएको थियो ।आधाजसो जनसंख्या आन्दोलनमा रहेका बेला निर्वाचन सम्भव नहुने भन्दै बन्द सूची नबुझाउने निर्णय गरेको राष्ट्रिय जनशक्ति पार्टीले आफ्नो अडान कायमै राखेको छ ।
प्रमुख मधेशवादी दलले बन्द सूची नबुझाउने भएपछि चैत २८ गतेका लागि निर्धारित संविधानसभा निर्वाचनमासमेत आशंका सिर्जना भएको छ।यद्यपि तराई र केही पहाडी जिल्लामा आन्दोलनरत संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा र सरकारबीच आजको वार्ता सकारात्मक भए मोर्चामा आवद्ध दलहरुले बन्द सूची बुझाउन सक्ने संकेत दिएका छन् । आयोगमा दर्ता भएका ७४ दलमध्ये ३७ वटा दलले मात्रै फागुन ८ गते बन्द सूची बुझाएका थिए ।
यसैबीच निर्वाचन आयोगले आज साँझदेखि समानुपातिक प्रणालीका लागि मतपत्र छाप्ने काम सुरु गर्ने भएको छ। आयोग स्रोतकाअनुसार झण्डै दुई करोड मतपत्र छाप्ने योजना रहेको छ। मतपत्र छाप्ने जिम्मा जनक शिक्षा सामग्री केन्द्रले पाएको छ।

Saturday, February 23, 2008

बन्दको बाह्रौ दिन पनि जनजीवन कष्टकर

बन्दको बाह्रौ दिन पनि जनजीवन कष्टकर

एक मधेश एक प्रदेशको मुख्य मागसहित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आव्हान गरेको बन्दले १२औं दिन पनि तराईको जनजीवन प्रभावित बनेको छ।लगातारको बन्दमाथि थपिएको कर्फ्युले जनजीवन थप कष्टकटर बनेको छ। मुलुकको विभिन्न स्थानमा शनिबार साँझदेखि लगाइएको कर्फ्यु आइतबार बिहान हटेपछि सर्वसाधारणको चहलपहल बढेको बताइएको छ । यद्यपि बन्दले बजार पसल पूर्ण रुपमा ठप्प रहेकाले अत्यावश्यकीय सामाग्रीको अभावमा सर्वसाधारणले सहज महशुस गर्न सकेका छैनन् ।जीवनयापनमा कठिनाई उत्पन्न भएपछि केही स्थानमा बन्द र कर्फ्युको अवज्ञा समेत हुन थालेको छ । प्रदर्शनकारीले सुनसरीको दुहवी, भण्टाबारीलगायतका क्षेत्रमा कर्फ्युको अवज्ञा गरी प्रदर्शन गरेका छन् ।
सुरक्षाकर्मीले फकवान, हलुवाई र मंगला मियालाई सो क्रममा पक्राउ गरेको छ।प्रदर्शनका क्रममा सुरक्षाकर्मीले कैयौ राउण्ड हवाई फायर गरेको आन्दोलनकारीहरुले दावी गरेका छन् । दुहवी बजार रातभर तनावग्रस्त रहेकाले सुरक्षा व्यवस्था कडा पारिएको सशस्त्र प्रहरी उपरीक्षक नगेन्द्र थापाले जानकारी दिनुभयो ।
पूर्व पश्चिम राजमार्ग खण्डको कोशी ब्यारेजबाट चार दर्जन बढी सवारी साधनलाई स्कटिङ गरी इटहरी पुर्‍याइएको छ।यसैबीच सुनसरीमा शनिबार एम्बुलेन्स तोडफोड भएको विरोधमा आइतबारदेखि त्यहाँ सम्पूर्ण एम्बुलेन्स सेवा बन्द गरिएको छ। प्रदर्शनकारीले शनिबार साँझ नेपाल रेडक्रस सोसाइटी इनरुवा उपशाखाको एम्बुलेन्स तोडफोड गरेका थिए ।
सुनसरी सदरमुकाम इनरुवामा इटहरी-झम्का, धरान र इनरुवालगायत स्थानका दर्जनौ एम्बुलेन्स पूर्व पश्चिम राजमार्गको इनरुवा खण्डमा बाटोमा तेर्स्याइएका छन् ।

त्यस्तै झापाको बैगुन्धुरा स्रोत केन्द्र अन्तर्गतका १८ विद्यालय बन्दका बावजुद आइतबारबाट संचालन हुने भएका छन् । ती विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिको शनिबार बसेको बैठकले पठनपाठन प्रभावित भएको भन्दै विद्यालय संचालन गर्ने निर्णय गरेको हो ।

उम्मेदवार टुंगो लगाउन दल बैठकमा

उम्मेदवार टुंगो लगाउन दल बैठकमा

चैत्र २८ गते हुने संविधान सभा निर्वाचन अन्र्तगत प्रत्यक्ष चुनावका लागि दलहरुले उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिने भएका छन् । १२ फागुनमा उम्मेदवारको अन्तिम टुंगो लगाउन दलहरु बैठक बस्ने भएका छन् ।
दलहरुले अधिकांश जिल्लामा उम्मेदवारको नामावली तय गरिसकेको र बांकि जिल्लामा आज टुङ्गो लगाइने बताएका छन् । निर्वाचन कार्यतालिका अन्र्तगत दलहरुले भोलि निर्वाचन आयोगमा उम्मेदवारको मनोनयन दर्ता गराउनुपर्नेछ ।
उम्मेदवार छनौटका विषयमा नेपाली कांग्रेसमा समस्या उत्पन्न भएको छ । असन्तुष्टिका कारण उसले २ सय ४० मध्ये १ सय क्षेत्रका उम्मेद्वारको मात्रै टुङ्गो लगाएको छ । कांग्रेसका महामन्त्री विमलेन्द्र निधिले केही जिल्लामा उम्मेद्वारी छनौटबारे विवाद रहेको र आज साँझ सम्म विवाद मिलाउने जानकारी दिनुभयो ।
उम्मेद्वारी छनौटबारे अन्तिम निर्णय गर्न कांग्रेस संसदीय समितिको बैठक बस्दैछ । प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने वैठकमा विवाद क्षेत्रका विषयमा छलफल हुने कांग्रेस महामन्त्री निधिले जानकारी दिनुभयो ।
त्यस्तै उम्मेद्वारी छनौटबारे असन्तुष्ट रहेका कांग्रेस नेताहरुले भने छुट्टै छलफल गरिरहेका छन् । उनीहरुले कार्यवाहक सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, शान्तिमन्त्री राचन्द्र पौडेलले आफूअनुकूल उम्मेदवार छानेको भन्दै आपत्ति जनाएका छन् ।
आज प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटी त्यसविषयमा छलफल गर्ने कांग्रेस नेता विजयकुमार गच्छेदारले जानकारी दिनुभयो । स्रोतका अनुसार नेता विजयकुमार गच्छेदार, अर्जुननरसिंह केसी, गोविन्दराज जोशी, रामलक्ष्मण थारु, लक्ष्मण घिमिरेलगायतका नेताहरुले पार्टीले अहिलेकै तरिकाले उम्मेदारी छनौट गरे राजिनामा दिने समेत तयारी गरिरहेका छन् ।
उम्मेद्वारी छनौटलाई अन्तिम रुप दिन एमाले स्थायी समितिको बैठक पनि आजै बस्दैछ ।
दिउसो १२ बजे बस्ने बैठकमा केही ठाउंमा मात्रै बांकी रहेका उम्मेद्वारी छनौटलाई अन्तिम रुप दिने एमाले स्थायी समितिका सदस्य अमृतकुमार बोहराले जानकारी दिनुभयो । नेता बोहराका अनुसार एमालले २ सय ४० ओटै क्षेत्रमा उम्मेद्वारको टुङगो लगाइ सकेपनि केही प्राविधिक कुरा मिल्न बांकी छ ।
उम्मेद्वारको नामावली सार्वजनिक गरिसकेको नेकपा माओवादीले पनि आज केही नाममा फेरवदल हुनसक्ने जनाएको छ । उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिन माओवादीको बैठक शुरु भएको छ । पार्टी कार्याल बुद्धनगरमा शुरु भएको बैठकमा उम्मेद्वारी दर्ता, संविधान सभा चुनावका बारे छलफल हुने नेकपा माओवादीका नेता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
आजै नेकपा माले, मजदुर किसान पार्टीले भने उम्मेद्वारको नामावलीलाई अन्तिम रुप दिदैछन् । उम्मेद्वार छान्न नेकपा मालेको वैठक विहान ११ बजे बस्दैछ भने मजदुरकिसान पार्टीको बैठक दिउसो बस्नेछ ।

बन्द सूची बुझाउने अन्तिम दिन अन्योल कायमै

बन्द सूची बुझाउने अन्तिम दिन अन्योल कायमै

समानुपातिन निर्वाचन प्रणाली अन्तर्गतको बन्द सूची बुझाउन थप गरे पनि छुटेका भनिएका दलहरुले बन्द सूची बुझाउने नबुझाउने अन्योल कायमै छ।आन्दोलनमा रहेका मधेशवादी दलहरुसँगको वार्ता निष्कर्षमा पुग्न नसकेपछि यो अन्योल देखिएको हो ।यही फागुन ८ गते प्रमुख सत्तारुढ दल, राप्रपालगायतका दलले बन्द सूची बुझाए पनि हालै गठन भई मधेश आन्दोलन गरिरहेका केही दल र राष्ट्रिय जनशक्ति पार्टीले भने बन्द सूची बुझाएका छैनन् ।

एमाले-माओवादी झडपमा घाइते माओवादी कार्यकर्ताको मृत्यु

एमाले-माओवादी झडपमा घाइते माओवादी कार्यकर्ताको मृत्यु

अर्घाखाँचीको नुवाकोट गाविसमा एमाले र माओवादीबीचको झडपमा घाइते भएका नेकपा माओवादीका कार्यकर्ता राजेन्द्र बञ्जाडेको आइतबार बिहान राजधानीमा मृत्यु भएको छ।राजधानीस्थित नर्भिक अस्पतालमा उपचाररत माओवादीका विशेष एरिया इञ्चार्ज बञ्जाडेको आइतबार बिहान मृत्यु भएको हो ।
टाउकोमा गम्भीर चोट लागेका उनलाई थप उपचारका लागि शनिबार राजधानी ल्याइएको थियो ।गत शुक्रबार भित्ते लेखनको विषयलाई लिएर एमाले र माओवादी कार्यकर्ताबीच झडप भएको थियो ।
झडपमा बञ्जाडेसहित ४ माओवादी कार्यकर्ता घाइते भएका थिए ।घाइतेहरुमा काजीमान रायमाझी, कृष्णहरि भुसाल, नारायण खनाल, चुडामणि पौडेल, विष्णु ढुंगाना, पशुपति मरासिनी, सुमन मगर, अम्बिका केसीलगायत रहेका छन् ।

एक मधेश एक प्रदेशबाहेक तराईको सबै माग पुरा गर्न सात दल तयार

एक मधेश एक प्रदेशबाहेक तराईको सबै माग पुरा गर्न सात दल तयार

सत्ता साझेदार सात दलले मधेशवादी दलले उठाएका ६ बुँदे मागमध्ये एउटाबाहेक अन्य सबै पुरा गर्ने निर्णय गरेका छन् । मधेशका मागसम्बन्धमा सात दलको धारणा बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा ११ फागुनमा बसेको सात दलको बैठकले एक मधेश एक प्रदेशबाहेक अन्य सबै माग पुरा गरेर अघि बढ्ने निर्णय गरेको हो ।
एमाले नेता झलनाथ खनालकाअनुसार प्रदेशहरु विभाजन गर्ने काम संविधानसभाले गर्ने भएकाले तत्काल पुरा गर्न नसकिने निर्णय भएको छ। बैठकपछि सात दलद्वारा जारी संयुक्त विज्ञप्तिमा मधेशी समुदायले उठाएका अधिकांश मागहरु यसअघि नै पुरा भएको उल्लेख गर्दै पछिल्लो मागलाई सकारात्मक रुपमा लिदै वार्ताबाटै समस्या समाधानमा पुग्नुपर्ने उल्लेख छ ।सात दले चैत २८ गतेको संविधानसभा निर्वाचनमा दृढतापूर्वक अघि बढ्न सम्पूर्ण सबैमा अपिलसमेत गरेका छन् ।
सात दलले राष्ट्रिय अखण्डतामा आँच आउने बाहेकका माग पुरा गर्न तयार रहेको जनाउँदै वार्ताबाट निकासमा पुग्न मधेशवादी दलहरुलाई आव्हानसमेत गरेका छन् ।बैठकले भारतीय दूतावासमा कांग्रेस नेता र मधेशी नेताहरुबीच भएको वार्ता राष्ट्रिय अस्मिताविपरीत भएको भन्दै भर्त्सना गरेको बाममोर्चा नेता सीपी मैनालीले बताउनुभयो ।शुक्रबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच भएको वार्तामा मधेशी नेताहरुले दलहरुको एउटै धारणा नरहेको बताएपछि शनिबार सात दलको बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, एमाले महासचिव माधवकुमार नेपाल, माओवादी अध्यक्ष प्रचण्डलगायत सातै दलका शिर्षस्थ नेताहरु सहभागी थिए।

कुवेतमा मृत्यु दण्ड पाएका भारतीय बचाउन नेपालसँग आग्रह

कुवेतमा मृत्यु दण्ड पाएका भारतीय बचाउन नेपालसँग आग्रह

एक नेपाली युवतीको हत्या आरोपमा कुवेतको अदालतले मृत्यु दण्डको फैसला सुनाएका एक भारतीय नागरिकको ज्यान बचाइदिन भारतले नेपाल सरकारसमक्ष अनुरोध गरेको छ ।
मृत्युदण्ड सुनाइएका भारतीय नागरिक सौकत थिकासेरीलाई बचाउन भारतीय सरकारका एक मन्त्रीले नेपालका श्रम तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकलाई एक पत्रमार्फत अनुरोध गरेको बुझिएको छ।समुन्द्रपार मामिलासम्बन्धी भारतीय मन्त्री भयालार रविले हालै मन्त्री लेखकलाई एक पत्र पठाई सरकारका तर्फबाट पहल गरिदिन आग्रह गरेको बताइएको छ।प्राप्त समाचारअनुसार कुवेतको एक घरमा कामदारका रुपमा कार्यरत नेपाली युवती जमुना थापाको हत्या आरोपमा सौकतलाई त्यहाँको अदालतले मृत्यु दण्डको सजाय सुनाएको छ ।
जमुनाको हत्या आरोपमा सौकतलाई त्यहाँको स्थानीय अदालतले मृत्यु दण्डको सजाय सुनाएको बताइएको छ।भारतीय मन्त्री रविले सौकतलाई क्षमादान दिलाउनका लागि मृतक जमुनाको परिवारलाई नेपाल सरकारका तर्फबाट आग्रह दिरिदिन उक्त पत्रमार्फत आग्रह गरिएको छ।
कुवेतको सारी एट अदालतले सौकतलाई हत्यामा दोषी ठहर्‍याउँदै मृत्युदण्डको फैसला सुनाएको छ ।नेपाल सरकारले जुमनाको परिवारमार्फत कुवेतको अदालतमा अनुरोध गरेमा मृत्युदण्डको फैसलामा पुनःविचार हुनसक्ने भएकाले यस्तो अनुरोध गरिएको मन्त्री रविले आफ्नो पत्रमा उल्लेख गरेको स्रोतहरुले जनाएका छन् ।

Friday, February 22, 2008

एक मधेश एक प्रदेश अस्वीकार'

'एक मधेश एक प्रदेश अस्वीकार'
सात दल एक मधेश एक प्रदेशको विपक्षमा उभिएका छन् । ११ फागुनमा बसेको सात दलका शिर्ष नेताको बैठकले मुलुकको स्वतन्त्रता र सुरक्षामा आघात पर्नसक्ने भन्दै आत्मनिर्णयसहित 'एक मधेश एक प्रदेश' मा नजाने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटामा बसेको बैठकबारे जानकारी दिनुहुदै संयुक्त वामोर्चाका अध्यक्ष सीपी मैनाली सातै दलका नेताहरु एक मधेश एक प्रदेशको विपक्षमा उभिनुभएको बताउनुभयो । 'कसैले माग उठाउंछ भने अन्यथा लिदैनौं,' उहांले भन्नुभयो,'एक मधेश एक प्रदेशमा जांदा मुलुकको राष्ट्रियता र स्वतन्त्रतामा खतरा उत्पन्न हुन्छ भन्ने हाम्रो ठहर छ ।' सात दलले मधेशका आन्दोलनरत पक्षसंग वार्ता जारी राख्ने निर्यण गरेको मैनालीको भनाई थियो । वार्ताबाटै समस्याको हल खोज्न सकिने भन्दै स्वयत्ततासहितको संघात्मक राज्यप्रणाली आफूहरुको बटमलाइन भएको स्पष्ट पार्नुभयो ।
चुनाव तोकिएको मितिमा हुने दाबी गर्दै भन्नुभयो,'नेपाली जनता चुनावको पक्षमा रहेकाले चैतमा सफलताका साथ सम्पन्न गर्न सात दल दृढ छन् ।' मधेशी नेताहरुले जुन मनशायले माग उठाएपनि त्यसले अस्थिरता र असुरक्षा सृजना गर्ने उहांको भनाई थियो ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले एक मधेश एक प्रदेशको माग नछाडेको र सरकारले उक्त माग पूरा नगर्ने स्पष्ट भएपछि जारी वार्ता धरापमा परेको छ । मोर्चाले आन्दोलन चर्काउने बताएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको प्रमुख घटक तर्राई मधेश लोकतान्त्रिक पार्टीका नेता महेन्द्र यादवले आत्मनिर्णयको अधिकारसहित एक मधेश एक प्रदेशको मागबाट पछि नहट्ने अडान दोहोर्‍याउनुभयो । उहांले आन्दोलन चर्काउन आफूहरु मधेशमै जाने बताउनुभयो । यादवले भन्नुभयो, 'हामी अब विराटनगर, भैरहवा, जनकपुर र वीरगन्ज गरी चार ठाउँमा क्याप खडा गरेर आन्दोलन चर्काउँछौं । आज हाम्रो वार्ताको अन्तिम दिन हो ।'